काठमाडौँ।
नेपालको चुनावी राजनीतिमा भविष्यका योजना र आकर्षक नाराहरू हाबी हुने गरे पनि रोल्पाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वर्षमान पुन ‘अनन्त’ले यसपटक फरक शैली अपनाएका छन्। उनले नयाँ प्रतिबद्धताभन्दा विगतमा सम्पन्न गरेका कामलाई आधार बनाएर मत माग्ने रणनीति अघि सारेका हुन्।
तेस्रोपटक चुनावी मैदानमा उत्रिएका पुनले सडक विस्तार, विद्युतीकरण, शिक्षा, स्वास्थ्य, खानेपानी र सिँचाई जस्ता क्षेत्रमा भएका उपलब्धिलाई तथ्य र तथ्याङ्कसहित प्रस्तुत गरिरहेका छन्। विशेषगरी सामाजिक सञ्जालमार्फत भिडियो सामग्री सार्वजनिक गर्दै उनले प्रमाणसहित आफ्ना कामहरू देखाउने प्रयास गरेका छन्।
राष्ट्रिय राजनीतिमा प्रभावशाली रहे पनि जिल्लामा ठोस काम नगरेको भन्ने विगतको आलोचनालाई चिर्न पुनले यो 'उपलब्धि-केन्द्रित' अभ्यास सुरु गरेका हुन्। उनले मतदातालाई आफ्नो कार्यकालको मूल्याङ्कन तथ्यका आधारमा गर्न आग्रह गर्दै यसले नेपाली राजनीतिमा नयाँ र स्वस्थ परम्पराको विकास हुने विश्वास व्यक्त गरेका छन्।