काठमाडौँ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३ हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म १ हजार २१३ जनाले मात्र बैंक खाता खोलेका छन्। निर्वाचन आयोगका अनुसार चुनावमा सहभागी ६८ दलमध्ये हालसम्म ९ वटा दलले मात्र आधिकारिक खाता खोलेका छन्।
खाता खोल्ने दलहरूमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चा लगायत रहेका छन्। निर्वाचन आयोगले आर्थिक सहायतामा पारदर्शिता ल्याउन र तोकिएको खर्चको सीमा पालना गराउन छुट्टै बैंक खाता अनिवार्य गरेको हो।
'प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता कार्यविधि, २०८२' अनुसार उम्मेदवार र दलले निर्वाचन प्रचारका लागि लिने सहयोग र गर्ने खर्च अनिवार्य रूपमा सोही खातामार्फत गर्नुपर्ने व्यवस्था छ। आयोगले खर्चको प्रभावकारी निगरानीका लागि सबै उम्मेदवारलाई यथाशीघ्र खाता खोल्न सूचित गरेको छ।