काठमाडौँ।
अमेरिकाले उज्बेकिस्तानका दुईवटा कन्सल्ट्यान्सी कम्पनी र तिनका वरिष्ठ पदाधिकारीहरूमाथि भिसा प्रतिबन्ध लगाएको छ। अवैध रूपमा अमेरिका छिर्न चाहनेहरूलाई योजनाबद्ध रूपमा सघाएको र मानव तस्करीको सञ्जाल चलाएको आरोपमा अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले यो कदम चालेको हो।
अनुसन्धानका क्रममा ती कम्पनीहरूले उज्वेकिस्तानबाट हवाई मार्ग हुँदै मध्य अमेरिकी देशहरूलाई ट्रान्जिट बनाएर र त्यहाँबाट सीमा पार गराई अवैध रूपमा मानिसहरूलाई अमेरिका छिराउने 'ट्राभल सर्भिस' सञ्चालन गरेको पाइएको थियो। अमेरिकी अध्यागमन तथा राष्ट्रियता ऐनअनुसार यो कारबाही गरिएको हो।
"हामी हाम्रो राष्ट्रिय सुरक्षा वा अध्यागमन कानुनलाई कमजोर बनाउने कुनै पनि प्रयास सहन गर्दैनौँ," विदेश मन्त्रालयले विज्ञप्तिमार्फत भनेको छ। पछिल्लो समय मध्य एसियाली मुलुकहरूबाट मेक्सिकोको बाटो हुँदै अमेरिका छिर्ने आप्रवासीहरूको सङ्ख्या बढेपछि अमेरिकी सरकारले आफ्नो भिसा नीति र सीमा सुरक्षामा कडाइ गर्न थालेको छ।