काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेता तथा पूर्वसांसद जनार्दन ढकाल आज नेपाली काँग्रेसमा प्रवेश गर्दैछन्। काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कांग्रेसको ‘प्रतिज्ञा पत्र’ सार्वजनिक कार्यक्रममा पार्टी सभापति गगन थापाले उनलाई औपचारिक रूपमा पार्टी प्रवेश गराउने कार्यक्रम छ।
एमाले रसुवाका पूर्वअध्यक्ष समेत रहेका ढकाल विगत एक वर्षदेखि पार्टी नेतृत्वप्रति असन्तुष्ट रहँदै आएका थिए। उनले रसुवामा एमालेको संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेले पनि जिल्ला नेतृत्वबाट आफूमाथि भौतिक आक्रमण र असहयोग भएको र केन्द्रले त्यसको सुनुवाइ नगरेको भन्दै गत वर्ष नै एमाले परित्यागको घोषणा गरेका थिए।
रसुवागढी नाका सुधार, सुख्खा बन्दरगाह निर्माण र सडक पूर्वाधार विकासमा सक्रिय ढकाल कुनै समय एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीका निकै विश्वासपात्र मानिन्थे। निर्वाचनको पूर्वसन्ध्यामा ढकालको कांग्रेस प्रवेशले रसुवाको चुनावी समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ। उनलाई कांग्रेसले रसुवाको राजनीतिमा प्रभावशाली भूमिका दिने अपेक्षा गरिएको छ।