काठमाडौँ।
नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी मधेश प्रदेशको राजधानी जनकपुरमा आफ्नो पहिलो ‘प्रतिज्ञा सभा’ सुरु गरेको छ। आजै पार्टी केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको चुनावी ‘प्रतिज्ञापत्र’ (घोषणापत्र) यसै सभाबाट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
सभालाई सम्बोधन गर्न कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र पूर्व उपसभापति बिमलेन्द्र निधिलगायतका शीर्ष नेताहरू जनकपुर पुगेका छन्। मधेश प्रदेशका सभापति एवं मुख्यमन्त्री कृष्णा यादवले यस सभामा करिब एक लाख जनताको सहभागिता रहने दाबी गरेका छन्।
कांग्रेसले यसपटकको निर्वाचनमा आफ्ना प्रतिबद्धताहरूलाई ‘प्रतिज्ञा’ को रूपमा जनतामाझ लैजाने रणनीति लिएको छ। जनकपुरको यो सभालाई कांग्रेसले आफ्नो चुनावी अभियानको औपचारिक सुरुवात र शक्ति प्रदर्शनका रूपमा लिएको छ। सभामा नेताहरूले पार्टीको आगामी योजना र देशको वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्नेछन्।