काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली काँग्रेसमा प्रवेश गर्ने भएकी छन्। बुधबार जनकपुरमा आयोजना हुने कांग्रेसको 'प्रतिज्ञा–पत्र' (घोषणापत्र) सार्वजनिक कार्यक्रममा उनी औपचारिक रूपमा पार्टी प्रवेश गर्न लागेकी हुन्।
यसअघि आजै एक विज्ञप्ति जारी गर्दै शर्माले रास्वपाको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी थिइन्। उनले पार्टीमा इमानदार व्यक्तिहरूको मूल्यांकन नभएको र मधेसमा टिकट वितरणमा आर्थिक अनियमितता भएको गम्भीर आरोप लगाएकी छिन्। २०७९ साउनदेखि रास्वपामा सक्रिय रहेकी शर्माले पार्टीको पछिल्लो कार्यशैली र निर्णयहरू मूल्यमान्यता विपरीत रहेको बताएकी छिन्।
निर्वाचनको मुखमा रास्वपामा प्रभावशाली नेताहरूले पार्टी छाड्ने लहर नै चलेको छ। यसअघि प्रमुख सचेतक सन्तोष परियार, केन्द्रीय सदस्यहरू सुमना श्रेष्ठ, डा. प्रभात अधिकारी, हरि भट्ट र रुपन्देहीका उम्मेदवार डा. श्री कुँवरले पनि पार्टी परित्याग गरिसकेका छन्। 'जेनजी' आन्दोलनपछि रास्वपाभित्रको आन्तरिक कलह र असन्तुष्टि सतहमा आउँदा नेतृत्वमाथि प्रश्न उठाउँदै राजीनामा दिने क्रम बढेको छ।