काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रको भ्रमणमा व्यस्त रहने भएका छन्। बिहान ८ बजे क्षेत्र नं. १ को देवदह खैरेनीबाट सुरु भएको उनको जनसम्पर्क कार्यक्रम साँझ बुद्ध जन्मस्थल लुम्बिनी पुगेर समापन हुनेछ।
रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माका अनुसार लामिछानेले दिनभर ५ वटा क्षेत्रका २६ विभिन्न स्थानमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्नेछन्। कार्यतालिका अनुसार बिहान ११ बजे भैरहवा (क्षेत्र नं. ३), दिउँसो १ बजे मर्चवार (क्षेत्र नं. ४), २ बजे पर्सहवा (क्षेत्र नं. ५) र सवा ३ बजे बुटवल तथा मोतिपुर (क्षेत्र नं. २) पुग्ने कार्यक्रम छ। साँझ सवा ६ बजे उनी लुम्बिनीस्थित मायादेवी मन्दिर पुग्नेछन्।
धेरै स्थानमा पुग्ने कार्यक्रम भए पनि सबै ठाउँमा सम्बोधन नगरी मुख्यतया जनभेटघाटमा केन्द्रित हुने पार्टीले जनाएको छ। रुपन्देहीका विभिन्न क्षेत्रमा रास्वपाबाट महामन्त्री सुनिल लम्सालसहित सुलभ खरेल, डा. लेखजंग थापा, कन्हैया बनिया र तौफिफ अहमद खान चुनावी मैदानमा छन्। उनीहरूको चुनावी मनोबल बढाउन सभापति लामिछाने आज रुपन्देही केन्द्रित भएका हुन्।