काठमाडौँ।
व्यवस्था बचाउ र वर्तमान संविधानको संरक्षणको कुरा चर्को रुपमा उठ्दा आसन्न प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ १६५ सिटका लागि ६३ वटा राजनीतिक दल र स्वतन्त्र गरी तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन् । तर, त्यसलाई समावेशीताको कसीमा तौलिने हो भने दलित समुदाय ६.८१ प्रतिशताम खुम्चिएको छ । जहाँ २३२ जना दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
प्रत्यक्षतर्फको उम्मेदवारी समावेशिताका हिसाबले सन्तोषजनक देखिँदैन । यद्यपि, २३२ जनाको संख्यालाई सानो भन्न नमिल्ने तर्क दलित नागरिक समाजको छ । दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष जेबी विश्वकर्मा भन्छन्, “प्रमुख दलले दलितलाई एक/दुई ठाउँमा मात्र उम्मेदवारी दिने चेस्टा गरे । साना र नयाँ पार्टीले दलितलाई उम्मेदवार त बनाएका छन् तर प्रतिस्पर्धामा आउन सक्ने अवस्था कमजोर देखिन्छ ।”
डिग्निटी इनिसिएटिभको एक अध्ययन अनुसार प्रत्यक्षतर्फ विभिन्न दलका खसआर्य उम्मेदवार एक हजार ३२० (३८.७६ प्रतिशत) छन् । आदिवासी जनजातिका ८१३ अर्थात् २३.८७ प्रतिशत छन् । मधेशी ७७८ जना अर्थात् २२.८४ प्रतिशत छन् भने दलित २३२ जना अर्थात् ६.८१ प्रतिशत उम्मेदवार छन् । त्यस्तै थारू १४१ जना अर्थात् ४.१४ प्रतिशत र मुस्लिम १२२ जना अर्थात् ३.५८ प्रतिशत छन् । महिला उम्मेदवार ३८८ अर्थात् ११.३९ प्रतिशत रहेका छन् ।
नाम मात्रैका ठूला दलभन्दा नयाँ, साना र क्षेत्रीय दलबाट प्रत्यक्षमा दलित समुदायले बढी संख्यामा प्रतिस्पर्धा गर्दै छन् । विशेष महाधिवेशनबाट सुध्रिएको भनिएको नेपाली काँग्रेसबाट जम्मा एक जना दलित उम्मेदवार छन् । बझाङबाट कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ चुनावी मैदानमा छन् । स्नेही नयाँ अनुहार पनि होइनन् । उनी प्रतिनिधि सभाका निवर्तमान सांसद हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई उम्मेदवार छन् । डडेलधुराबाट चक्रप्रसाद रसाइली ‘स्नेही’ र बर्दिया–२ बाट एमालेकी विमला विक उम्मेदवार छन् । विक पनि नयाँ अनुहार होइनन् । पूर्वराज्यमन्त्री हुन् । एमालेले बाँके–३ बाट दलबहादुर सुनार, बझाङबाट ओफीलाल ओखेडाको टिकट फिर्ता लिएको थियो ।
प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीबाट तीन जनाले प्रतिस्पर्धा गर्दै छन् । स्याङग्जा–२ मा पदम विश्वकर्मा, कञ्चनपुर जिल्ला–३ मा मानबहादुर सुनार र काठमाडौँ–४ मा इन्द्र भुसाल उम्मेदवार छन् । मानबहादुर सुनार सुदूरपश्चिम प्रदेश सरकारका पूर्वराज्यमन्त्री हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पुराना दलले भन्दा पनि कम संख्यामा दलितलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ । बाँके क्षेत्र–३ मा खगेन्द्र सुनारले उम्मेदवारी दिँदा इलाम–१ बाट रास्वपाका विमल गदालले उम्मेदवारी दिएका छन् ।
कांग्रेस, एमाले, नेकपा र रास्वपाका दलित उम्मेदवारभन्दा अन्य साना दलमा दलित उम्मेदवारको संख्या धेरै छ । जनता समाजवादी पार्टी, नेपालले सात जना दलित समुदायका व्यक्तिलाई प्रत्यक्ष उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई जनालाई प्रत्यक्ष उम्मेदवार बनाएको छ । राप्रपाबाट बर्दिया–१ बाट वीरबहादुर कामी र सल्यानबाट अनिशा नेपाली चुनावी प्रतिस्पर्धामा छन् । राष्ट्रिय जनमोर्चाले तीन जना दलितलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।
नेकपा माओवादीबाट २० जना, नेपाल मजदुर किसान पार्टीबाट पाँच जना, श्रम संस्कृति पार्टीबाट आठ जना, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पाँच जना, उज्यालो नेपाल पार्टीबाट चार जना, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबाट एकएक जनाले प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धा गर्दै छन् ।