काठमाडौँ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टी एक्लै लडेर पहिलो शक्ति बन्ने दाबी गरेका छन्। बुधबार बिहान बसेको केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनताबाट अस्वीकृत र तिरस्कृत शक्तिहरूसँग कुनै पनि हालतमा गठबन्धन नगर्ने स्पष्ट पारे।
उनले प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जित्ने लक्ष्यका साथ चुनावी तयारीमा जुट्न र आधिकारिक उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए। अन्य दलका समर्थकहरूबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको उल्लेख गर्दै उनले उत्साहका साथ मैदानमा उत्रिन आग्रह गरे।
बैठकमा सह-संयोजक माधवकुमार नेपालले पनि संवादको ढोका खुला रहे पनि पार्टीको मुख्य अभियान एक्लै चुनाव जित्ने रहेको बताए। करिब एक घण्टा चलेको उक्त बैठकमा सबै केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो।