काठमाडौँ ।
जनता समाजवादी पार्टी, नेपालले पूर्वमन्त्री प्रदीप यादवसहित आठ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको नीति र निर्णयविपरीत गतिविधि गरेको भन्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।
जसपाका अनुसार, आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाले उनीहरूमाथि कारबाही गरिएको हो । निष्कासित हुने अन्य नेताहरूमा चन्दनकुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, उदयकान्त मिश्र, हरिनारायण यादव, नवलकिशोर सिंह र डा. शिवजी यादव रहेका छन् ।

पूर्वमन्त्री यादवले निर्वाचन मनोनयन दर्ताको पूर्वसन्ध्यामा जसपा त्यागेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरेका थिए । उनी हाल एमालेको तर्फबाट पर्सा क्षेत्र नम्बर-१ मा उम्मेदवार बनेर चुनावी प्रचारमा सक्रिय छन् ।
यादवले पार्टी छाडेको एक साताभन्दा बढी समयपछि जसपाले उनीसहित अन्य नेताहरूलाई कारबाही गरेको औपचारिक जानकारी दिएको हो ।