काठमाडौँ ।
काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार बन्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सह-कोषाध्यक्ष शोभित उप्रेतीले दाबी गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विवाद चर्किएको छ । यही विवादका कारण राप्रपाले काठमाडौं जिल्लाभरका कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
क्षेत्रीय समितिले पशुपतिशमशेर राणालाई पहिलो र उप्रेतीलाई दोस्रो नम्बरमा सिफारिस गरेको थियो । तर, राणाले उम्मेदवार नबन्ने घोषणा गरेपछि उप्रेतीले आफ्नो दाबी प्रस्तुत गरेका छन् । अर्कोतर्फ, यसअघि दुई पटक सोही क्षेत्रबाट पराजित भइसकेका मिश्रले पनि उम्मेदवारीमा दाबी नछाडेपछि विवाद बढेको हो ।
विवाद समाधानका लागि पार्टीले आइतबार दुवै पक्षसँग छलफल गर्ने भएको छ । स्थानीय बासिन्दाले भने स्थानीय व्यक्तिलाई नै उम्मेदवार बनाउन पार्टीको ध्यानाकर्षण गराएका छन् ।