काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता गोकुलप्रसाद बास्कोटाले पछिल्लो राजनीतिक घटनाक्रमलाई ‘भद्दा र पटक-पटक दोहोरिने नाटक’ को संज्ञा दिँदै कडा असन्तुष्टि व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले संसद् विघटनपछि पुनःस्थापना हुँदै नाम र समय तोकेर प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रियालाई संविधानसम्मत देख्नेहरूको अवस्था अहिले ‘रुवाबासी हेर्नलायक’ बनेको बताएका छन् ।
"संसद् विघटनपछि सडक दबाब र पुनःस्थापनासँगै मिनेट र घण्टा मात्र होइन, नाम समेत तोकेर परमादेशी प्रधानमन्त्री बन्दा संविधानसम्मत देख्नेहरूको रुवाबासी हेर्न लायक देखियो," बास्कोटाले लेखेका छन् ।
उनले यस्ता राजनीतिक अभ्यासले लोकतान्त्रिक मूल्य, विधि र संस्कारलाई कमजोर बनाएको दाबी गर्दै प्रश्न गरेका छन्, "यी भद्दा पटक–पटक दोहोरिने नाटक सुन्न, देख्न र भोग्न नपर्ने राजनीतिक मूल्य–पद्धति कहिले व्यवहारमा आउला ?"
पछिल्लो समय नेपाली काँग्रेसभित्रको विवाद र विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछिको राजनीतिक घटनाक्रमलाई लक्षित गर्दै बास्कोटाको यो टिप्पणी आएको हो ।