काठमाडौँ।
संयुक्त राष्ट्रसंघले गृहयुद्धग्रस्त सुडानमा आगामी मार्च महिनापछि खाद्यान्न सहायताको भण्डार समाप्त हुने चेतावनी दिएको छ । यसले विश्वको सबैभन्दा ठूलो भोकमरी संकटमा फसेका लाखौं मानिसको जीवन जोखिममा परेको छ ।
विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार, तत्काल थप आर्थिक सहयोग नभएमा मार्चको अन्त्यसम्ममा खाद्य भण्डार सकिनेछ र लाखौं मानिस अत्यावश्यक खाद्य सहायताबाट वञ्चित हुनेछन् ।
सुडानमा तीन वर्षदेखि जारी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सबीचको गृहयुद्धका कारण दशौं हजारले ज्यान गुमाएका छन् भने एक करोड १० लाखभन्दा बढी विस्थापित भएका छन् ।
राष्ट्रसंघका अनुसार, सुडानको झण्डै आधा जनसंख्या (करिब २ करोड ५० लाख) अहिले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् । सुरक्षा चुनौतीका कारण कतिपय क्षेत्रमा भोकमरीको अवस्था भए पनि औपचारिक घोषणा हुन सकेको छैन ।