काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहले छरिएर रहेका स-साना राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल राष्ट्र निर्माण गरेको बताएका छन् । ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।
राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहलाई सम्झँदा राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचान स्थापित भएको देखिने उल्लेख गरेका छन् । "उहाँको दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक छन्," शुभकामना सन्देशमा भनिएको छ ।
उनले मुलुकको अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, कूटनीतिक सम्बन्ध, सुशासन र राष्ट्रिय एकता प्रवर्द्धनका लागि पृथ्वीनारायण शाहको दिव्योपदेशबाट मार्गदर्शन लिन सकिने बताए ।
राष्ट्रपति पौडेलले इतिहासका विभिन्न कालखण्डमा वीर पुर्खाहरूले राष्ट्र निर्माणको अभियानलाई निरन्तरता दिएका कारण नै आज हामीले सार्वभौम र स्वतन्त्र नेपालमा गर्व गर्न पाएको उल्लेख गरेका छन् ।
