काठमाडौँ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले नारायणहिटी दरबार छाडेको करिब दुई दशक बितिसक्दा पनि देशले संकट सामना गरिरहेकोमा चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
"हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ," पूर्वराजा शाहले भनेका छन् । उनले भाषण, जादू र चमत्कारले देश नबन्ने भन्दै दलहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाए ।
उनले भने, "झण्डै दुई दशकअघि शान्ति र स्थायित्व दिन्छौं भनेर सत्तामा पुगेका दलहरूको चाहनाअनुसार नै हामीले श्रीपेच जनताको नासोमा बुझाएका थियौं ।"
पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै उनले राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुन नसक्ने बताए । "सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था जनताको जिम्मेवारीबाट विमुख हुन सक्दैन," उनले भने, "सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्छ ।"