काठमाडौँ।
धनुषाको मिथिला नगरपालिका-२, सुकजोरमा जग्गा अतिक्रमणको विषयलाई लिएर झडप हुँदा ८ जना घाइते भएका छन् । सन्त रामपाल आश्रम अगाडि भएको उक्त झडपलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमका अनुसार, स्थिति तनावग्रस्त बनेपछि नेपाल प्रहरीले ७ र सशस्त्र प्रहरी बलले ९ सेल अश्रुग्यास प्रहार गरेको हो ।
आक्रोशित स्थानीयहरूले जनकपुर-ढल्के सडकखण्ड अवरुद्ध पारेका छन् । सोही क्रममा उनीहरूले सखुवा महेन्द्रनगरस्थित औरही पुलमा एउटा एम्बुलेन्समा समेत तोडफोड गरेका छन् ।
घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र अवस्थालाई सामान्य बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।