काठमाडौँ
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले सरकारविरुद्ध भइरहेका प्रदर्शनकारीहरूलाई ‘उपद्रवी’ र अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पलाई खुसी पार्न खोज्ने तत्वको संज्ञा दिएका छन्। टेलिभिजन सम्बोधनमा उनले इस्लामिक गणतन्त्र हजारौँको बलिदानबाट स्थापित भएको भन्दै यस्ता गतिविधिबाट पछि नहट्ने चेतावनी दिए। उनले राज्य टेलिभिजनमार्फत समर्थकहरूलाई सम्बोधन गर्दै “विनाशकारी तत्वहरूसँग कडा व्यवहार गरिने” दोहोर्याए।
यसैबीच, इरानले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा पत्र पठाउँदै प्रदर्शनलाई हिंसात्मक बनाएको आरोप अमेरिकामाथि लगाएको छ। इरानी राजदूतले संयुक्त राज्य अमेरिकाले धम्की, उक्साहट र अस्थिरता फैलाएर आन्तरिक मामिलामा हस्तक्षेप गरेको दाबी गरेका छन्। उता अमेरिकी राष्ट्रपति ट्रम्पले इरान “गम्भीर समस्यामा” रहेको भन्दै आवश्यक परे कडा कदम चाल्ने चेतावनी दिएका छन्, तर अमेरिकी सैनिक जमिनमा नपठाइने स्पष्ट पारेका छन्।
आर्थिक संकटबाट सुरु भएको प्रदर्शन १३ औँ दिनमा प्रवेश गरिसकेको छ र पछिल्ला वर्षकै सबैभन्दा ठूलो आन्दोलन बनेको छ। मानव अधिकार संस्थाहरूका अनुसार हालसम्म कम्तीमा ४८ प्रदर्शनकारी र १४ सुरक्षाकर्मीको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी पक्राउ परेका छन्। नर्वेस्थित इरान ह्युमन राइट्सले बालबालिकासहित ५१ जनाको मृत्यु भएको दाबी गरेको छ। देशभर इन्टरनेट प्रायः पूर्ण रूपमा बन्द गरिएको छ, जसका कारण सूचना प्रवाह अवरुद्ध भएको छ।
युरोपेली देशहरू युनाइटेड किंगडम, फ्रान्स र जर्मनीले इरानी सुरक्षाबलद्वारा गरिएको हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रदर्शनकारीको हत्या निन्दा गरेका छन्। संयुक्त राष्ट्रसंघले पनि शान्तिपूर्ण प्रदर्शनको अधिकार सुरक्षित गर्न सरकारको जिम्मेवारी स्मरण गराएको छ। यसै क्रममा इरानी सुरक्षा निकायहरूले ‘कुनै दयामाया नदेखाइने’ चेतावनी दिएका छन्। प्रदर्शन देशभर फैलिँदै गइरहेका छन् भने खाद्यान्न अभावको आशंकामा सर्वसाधारणले भण्डारण गर्न थालेको खबर आएको छ।