काठमाडौँ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि 'निर्वाचन प्रहरी' (म्यादी प्रहरी) को भर्ना प्रक्रिया आज (शुक्रबार) देखि सुरु भएको छ । नेपाल प्रहरीले आफ्नो कोटामा परेको १ लाख ३३ हजार ९८० जनाका लागि आवेदन खुला गरेको हो ।
इच्छुक नेपाली नागरिकले आजदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन पाउनेछन् ।
यसअघि 'म्यादी प्रहरी' भनिँदै आएकोमा यसपटकदेखि 'निर्वाचन प्रहरी' भनेर नामाकरण गरिएको हो । पूर्वसुरक्षाकर्मी र विगतका निर्वाचनमा खटिएकाहरूलाई भर्नामा प्राथमिकता दिइने प्रहरीले जनाएको छ ।
सरकारले निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका साथै करिब डेढ लाख निर्वाचन प्रहरी परिचालन गर्ने तयारी गरेको छ । सशस्त्र प्रहरीले पनि आफ्नो कोटाको निर्वाचन प्रहरीका लागि छिट्टै भर्ना खुलाउने जनाएको छ ।