काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्का तीन सदस्यको राजनीतिक दलसँगको संलग्नताप्रति गम्भीर आपत्ति जनाउँदै उनीहरूलाई राजीनामा दिन दबाब दिएकी छन् । ऊर्जा, विज्ञान तथा प्रविधिमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको आबद्धतालाई लिएर प्रधानमन्त्रीले यस्तो कदम चालेकी हुन् ।
एक मन्त्रीका अनुसार, प्रधानमन्त्री कार्कीले ‘नागरिक सरकारलाई बाहिर कुनै एक दलको सरकार’ भनेर आलोचना हुन थालेको र यो अवस्था निर्वाचन तथा सरकार दुवैका लागि घातक हुने बताएकी छन् ।
ऊर्जामन्त्री घिसिङ रास्वपासँग एकीकृत भएको 'उज्यालो नेपाल पार्टी' का संरक्षक थिए र हाल उनी रास्वपाका वरिष्ठ उपाध्यक्ष बनिसकेका छन् । यद्यपि, उनले आफू हालसम्म कुनै दलको सदस्य नरहेको र उम्मेदवार बन्नु परे सरकार छाड्ने दाबी गरेका छन् ।
खेलकुदमन्त्री श्रेष्ठ (गुप्ता) दुई दलबीचको एकता वार्तामा सक्रिय थिए भने सञ्चारमन्त्री खरेलले रास्वपाको पक्षमा सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।
'जेनजी' विद्रोहपछि चुनाव गराउने मुख्य जिम्मेवारीसहित प्रधानमन्त्री बनेकी कार्कीले आफ्नो मन्त्रिपरिषद्मा कुनै पनि दलसम्बद्ध व्यक्ति नहुने स्पष्ट पारेकी थिइन् । तर, मन्त्रीहरूकै गतिविधिका कारण नागरिक सरकार नैतिक संकटमा परेपछि प्रधानमन्त्रीले उनीहरूलाई 'विवेक पुर्याएर सरकारबाट अलग हुन' निर्देशन दिएकी हुन् । अब निर्णय मन्त्रीहरूकै हातमा रहेको बताइएको छ ।