काठमाडौँ।
भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले आफूमाथि अमेरिकाले लगाएका सबै आपराधिक आरोपहरूलाई अस्वीकार गरेका छन्। अमेरिकाको न्युयोर्कस्थित म्यानहटन संघीय अदालतमा उपस्थित गराइएका ६३ वर्षीय मदुरोले आफू ‘निर्दोष’ रहेको बयान दिएको हो।
उनीविरुद्ध ‘नार्को–टेररिज्म’ (लागूऔषध आतंकवाद) को षड्यन्त्र गरेको, मेसिनगन र विनाशकारी उपकरणहरू राखेको जस्ता गम्भीर अभियोगहरू लगाइएका छन्। अदालतमा मदुरोले आफू अझै पनि भेनेजुएलाको निर्वाचित र वैधानिक राष्ट्रपति भएको दाबी गरेका छन्।
स्मरण रहोस्, गत शनिबार अमेरिकी सेनाले भेनेजुएलामा विशेष कारबाही गरी मदुरोलाई नियन्त्रणमा लिएर न्युयोर्क पुर्याएको थियो। डोनाल्ड जोन ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएदेखि नै भेनेजुएलामा सत्ता परिवर्तनको पक्षमा उभिएका थिए।
न्युयोर्कको संघीय अदालतले यो मुद्दाको अर्को सुनुवाइका लागि आगामी मार्च १७ तारिखको मिति तय गरेको छ। त्यतिन्जेलसम्म मदुरो अमेरिकी हिरासतमै रहनेछन्।