काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले 'जेनजी' आन्दोलनका क्रममा भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगमा उपस्थित भएर बयान दिएका छन् । आयोगकी सदस्य लिली थापाले ओलीसँग साढे दुई घण्टा लगाएर बयान लिएकी हुन् ।
गत भदौ २३ र २४ गते भएको 'जेनजी' आन्दोलनका बेला तत्कालीन कार्यकारी प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियतमा निर्वाह गरेको भूमिकाबारे ओलीसँग सोधपुछ गरिएको थियो ।
आयोगकी सदस्य थापाका अनुसार, आयोगले तयार पारेका ३५ वटा प्रश्नको जवाफ ओलीले दिएका थिए । "कार्यकारी प्रमुख र राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको नाताले जेनजी आन्दोलनमा कस्तो भूमिका निभाउनुभयो भन्नेमा आधारित प्रश्नहरूको जवाफ दिएर जानुभयो," थापाले भनिन् ।
यसअघि आजै ओलीले 'जेनजी' आन्दोलनको छानबिनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगलाई पनि लिखित बयान दिएका थिए । जाँचबुझ आयोगको टोली बयानका लागि उनको निवास भक्तपुरको गुण्डु पुगेको थियो ।