काठमाडौँ ।
सामाजिक सञ्जाल समूह 'दारी ग्याङ' र बेलायतमा दर्ता भई सामाजिक कार्यमा सक्रिय 'माया फाउन्डेसन' ले 'जेनजी' आन्दोलनका घाइतेहरूलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
दारी ग्याङसँगको सहकार्यमा माया फाउन्डेसनले आन्दोलनका क्रममा गम्भीर घाइते भएका चार जनालाई जनही ६० हजार रुपैयाँका दरले सहयोग हस्तान्तरण गरेको हो । सहयोग पाउनेहरूमा शिव कुमार लाभ, लोकेन्द्र खड्का, सुमिता कार्की र सुवास अर्याल रहेका छन् ।
कार्यक्रममा फाउन्डेसनका निर्देशकद्वय डा. रक्षा थापा र राज पाण्डेले घाइतेहरूलाई दोसल्ला ओढाएर सहयोग रकम हस्तान्तरण गरेका थिए । दारी ग्याङका केन्द्रीय सदस्य महेश्वर घिमिरेको पहल र दारी ग्याङ युकेका संयोजक सुशील गौतमको विशेष सहयोगमा यो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै आन्दोलनका घाइते संयोजक रुपेन खड्काले तत्कालीन सरकारले आन्दोलनकारीमाथि दमन गरेको र आफूहरूलाई उपेक्षा गरेको भन्दै गुनासो गरे । फाउन्डेसनका निर्देशकहरूले विदेशमा रहे पनि देशको पीडामा आफूहरू दुःखी भएको र सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा दारी ग्याङका केन्द्रीय अध्यक्ष दिपेश सिग्देलले माया फाउन्डेसनलाई मायाको चिनो प्रदान गरी आभार व्यक्त गरेका थिए ।