२७ औँ वर्षमा पर्यटन बोर्डको रणनीतिक फड्कोः नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा

Author

सजिलो पत्रिका

२०८२ पुस १६, बुधबार

24
Share
Featured
  • नेपाल पर्यटन बोर्डले २७औँ स्थापना दिवसका अवसरमा आसियान बजारलाई लक्षित गर्दै नेपाललाई दीर्घकालीन उच्च सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ घोषणा गरेको छ।
  • एनटीबीका सीईओ दीपक राज जोशीले बौद्ध, आध्यात्मिक, साहसिक, वेलनेस, संस्कृति र समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपालको सशक्त पहिचान बनाइने बताए।
  • बोर्डले सन् २०२6–२०३५ रणनीतिक कार्ययोजना, डिजिटल–प्रेरित पर्यटन, उच्च मूल्य पर्यटनमा केन्द्रित नीति र सात प्रमुख पर्यटन प्रवृत्ति सार्वजनिक गर्दै आगामी मार्गचित्र प्रस्तुत गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आफ्नो २७ औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ । आसियान मुलुकलाई लक्षित गर्दै नेपाललाई दीर्घकालीन र उच्च सम्भावनायुक्त पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित उक्त घोषणा गरिएको हो ।

बोर्डका कार्यकारी प्रमुख अधिकृत (सीईओ) दीपक राज जोशीले उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै सन् २०२६ लाई केन्द्रमा राखेर विशेष रणनीति सार्वजनिक गरे । उनका अनुसार हालसम्म १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिसकेका छन्, जसले यो क्षेत्र नेपालका लागि महत्वपूर्ण र दिगो बजार रहेको पुष्टि गर्छ ।

“बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस तथा आयुर्वेद, संस्कृति र समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपालको सशक्त पहिचान बनाइनेछ,” सीईओ जोशीले बताए ।

कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन समारोहका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हा तथा विशिष्ट अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ रहेका थिए ।

सीईओ जोशीले सन् २०२५ मा ११ लाख ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान गरिएको जानकारी दिँदै यो संख्या अघिल्लो वर्षको तुलनामा करिब ३ प्रतिशतले वृद्धि भएको बताए । उनका अनुसार सन् २०२५ भित्र ३१ वटा टुरिजम मार्ट, १२ वटा ब्रान्डिङ तथा कर्पोरेट गतिविधि, र २० भन्दा बढी माइस (ःक्ष्ऋभ्) कार्यक्रम सम्पन्न भएका छन् ।

जेन्जी आन्दोलनपछिको अवधिमा बोर्डले आठ प्रमुख पर्यटकीय गन्तव्यबाट लाइभ प्रसारणमार्फत प्रवद्र्धन गरेको, नौ भाषामा यात्रा सूचना प्रकाशन गरेको तथा ६९ वटा पर्यटन पूर्वाधार विकासका काम अघि बढाएको जानकारी पनि उनले दिए । साथै, पूर्वदेखि सुदूरपश्चिमसम्म ४१ वटा प्रवद्र्धन तथा विकास कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

“पर्यटन केवल एउटा कोर सेक्टर मात्र होइन, बहु–क्रस सेक्टर क्षेत्र हो,” जोशीले उल्लेख गर्दै सन् २०२५ मा विभिन्न क्षेत्रमा २ हजार ६ सय पेशागत जनशक्तिलाई तालिम प्रदान गरिएको जानकारी दिए । सस्टेनेबल टुरिजम परियोजनाअन्तर्गत कञ्चनजंघा, मनास्लु र अपी–साइपालका प्रमुख ट्रेकिङ ट्रेलमा सम्भावना पहिचान, गुणस्तर सुधार, रोजगारी र बजार सिर्जनामा काम भइरहेको उनले बताए ।

एनटीबीले सन् २०२६ लाई परिभाषित गर्ने सात प्रमुख पर्यटन यात्रा प्रवृत्तिसमेत सार्वजनिक गरेको छ । ती प्रवृत्तिमा शोरभन्दा शान्ति, प्रशासनमा जेन–एआई, छनोटभन्दा विश्वास, हवाईमार्गभन्दा सडक, एकै ढाँचाभन्दा अत्यधिक व्यक्तिगत अनुभव, परीक्षण गरिएकाभन्दा अफ–ग्रिड गन्तव्य र संस्कृति प्राथमिकतामा रहने उल्लेख छ ।

आगामी मार्गचित्र प्रस्तुत गर्दै जोशीले २०२६–२०३५ रणनीतिक कार्ययोजना, सहभागितामूलक दृष्टिकोण, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति र अभ्यासको समन्वय, स्थानीय तथा वैश्विक अनुभवको मिश्रण, अनुत्पादक कार्यक्रम हटाउँदै उच्च मूल्य पर्यटनमा केन्द्रित हुने रणनीति स्पष्ट गरे ।

बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नतिजामुखी कार्यशैली अवलम्बन गरिएको उल्लेख गर्दै निजी क्षेत्र र सरकारसँगको समन्वयमा कार्यक्रम अघि बढाइएको बताए । बोर्ड कर्मचारी संगठनका अध्यक्ष सन्तोष विक्रम थापाले कर्मचारीको वृत्ति विकास, आर्थिक विनियमावली सुधार र पदपूर्तिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा पाटा सीईओ नुर अहमद हमिद, वल्र्ड टुरिजम नेटवर्क तथा यूएन टुरिजमका तर्फबाट भिडियो सन्देश प्रस्तुत गरिएको थियो । अवसरमा नेपाल पर्यटन बोर्डको वार्षिक प्रकाशन ‘इन–फोकस’ पनि विमोचन गरिएको छ ।

यो समाचारमा

नेपाल पर्यटन बोर्डकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...