काठमाडौँ
अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फ्लोरिडामा भएको भेटवार्तामा युक्रेन युद्ध अन्त्यका विषयमा उल्लेखनीय प्रगति भएको दाबी गरिएको छ । तर ट्रम्पले अझै पनि “एक–दुई जटिल (thorny) मुद्दा” बाँकी रहेको बताएका छन् । दुबै नेताले वार्ता सकारात्मक भएको बताए पनि मुख्य अड्चनका रूपमा भू–भागसम्बन्धी विषय अझै समाधान हुन नसकेको उल्लेख गरे ।
जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति योजनामध्ये करिब ९० प्रतिशतमा सहमति भइसकेको छ । ट्रम्पले भने युक्रेनका लागि सुरक्षा ग्यारेन्टी करिब ९५ प्रतिशत तयार भइसकेको दाबी गरे । यद्यपि, सुरक्षा ग्यारेन्टीमा अमेरिकी सैन्य उपस्थिति वा दीर्घकालीन सहयोगबारे स्पष्ट प्रतिबद्धता गरिएको छैन ।
रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता हाल युक्रेनको करिब २० प्रतिशत भू–भाग नियन्त्रणमा लिएको छ । डोनबास क्षेत्रलाई निसैन्यीकृत क्षेत्र बनाउने प्रस्ताव अझै अनिर्णीत रहेको ट्रम्पले बताए । रुसले डोनबासमा बाँकी रहेको युक्रेनी नियन्त्रण क्षेत्रबाट पनि फिर्ता हुन दबाब दिइरहेको छ भने युक्रेनले त्यस क्षेत्रलाई युक्रेनी सुरक्षाबलद्वारा संरक्षित स्वतन्त्र आर्थिक क्षेत्र बनाउने प्रस्ताव अघि सारेको छ ।
वार्तापछि जेलेन्स्कीले आगामी हप्ता अमेरिकी र युक्रेनी टोलीबीच थप छलफल हुने जानकारी दिए । युरोपेली नेताहरूले पनि प्रगतिलाई स्वागत गर्दै युक्रेनका लागि “दृढ सुरक्षा ग्यारेन्टी” आवश्यक रहेको जोड दिएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले जनवरीमा पेरिसमा युक्रेनका सहयोगी देशहरूको बैठक आयोजना हुने बताएका छन् ।