काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच आज भेटवार्ता हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग राजनीतिक सहकार्यको सहमतिमा हस्ताक्षर गर्नुअघि बालेनले घिसिङसँग भेट्न लागेका हुन् ।
बालेन निकट स्रोतका अनुसार, उनी शनिबार बिहान गोदावरीबाट सिधै घिसिङलाई भेट्न निस्किएका छन् । घिसिङ निकट स्रोतले पनि भेटवार्ता हुन लागेको पुष्टि गरेको छ ।
यसअघि सामाजिक सञ्जालमा शुक्रबार राति नै रवि लामिछाने, बालेन र कुलमानबीच भेट भएको चर्चा चलेको थियो । तर, बालेन निकट स्रोतले उक्त कुराको खण्डन गर्दै उनी शुक्रबार राति आफ्ना निकटस्थहरूसँग गोदावरीमा रहेको बताएको छ । यो भेटवार्तालाई आगामी राजनीतिक सहकार्यका लागि महत्वपूर्ण मानिएको छ ।