काठमाडौँ
जनकपुरधामका साधुसन्तहरुको अगुवाईमा हिन्दू समुदायले बंगलादेश विरुद्ध विरोध र्याली निकालेको छ । बिहीबार जनकपुरधामका साधुसन्तहरुको अगुवाईमा विभिन्न हिन्दूवादी संघ संस्थाका सदस्यसहित जनकपुरधामका स्थानीय हिन्दू समुदायले विरोध र्याली निकालेको छ ।
बांगलादेशमा हिन्दू समुदायका युवा दिपु दासको निर्ममतापूर्वक हत्या गरिएको विरोधमा जनकपुरधाममा विरोध र्याली निकालिएको छ । र्यालीमा बांगलादेश सरकार मुर्दाबाद, हिन्दूलाई मार्न पाईँदैन, जाग हिन्दू जाग, हत्यारालाई फाँसी दे लगायतका नारा लगाउँदै जनकपुरधामको विभिन्न चोकहरुको हुँदै र्याली निकालिएको छ ।
जनकी मन्दिरबाट सुरु भएको विरोध र्याली जनकपुरधामस्थित राम मन्दिर प्राङ्गनमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै रामानन्दिय वैष्णव समाजका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले बांगलादेश सरकारलाई दिपु साहको हत्यामा संलग्नहरुलाई सजाय दिन नेपालबाट कुटनीतिक पहल गर्न दबाब सृजना गर्न आजको विरोध र्याली गरेको जानकारी दिए ।
दिपु दासलाई जिउँदै जलाइएको जस्तै, उनको हत्यामा संलग्न हत्याराहरुलाई दिपु दास सरह फाँसी दिई जलाउनु पर्ने अध्यक्ष दासले माग गरेका छन्।
केही दिन अघि बांगलादेशमा हिन्दू समुदायका युवा दिपु दासको निर्ममतापूर्वक कुटपिट गरी जिउँदै जलाइएको थियो । सोहीको विरोधमा नेपालका विभिन्न सहरहरुमा निरन्तर बांगलादेश विरुद्ध विरोध तथा प्रदर्शन हुँदै आएको छ ।