काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा ध्यान केन्द्रित गर्न सरकारसँग आग्रह गरेको छ । पार्टी सभापति रवि लामिछानेसहितका नेताहरूले शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर यस्तो आग्रह गरेका हुन् ।
भेटमा रास्वपाका नेताहरूले सरकारका सबै गतिविधि चुनाव सम्पन्न गराउनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । सभापति लामिछानेले आफ्नो पार्टी पूर्ण रूपमा निर्वाचनमा होमिएको र देशमा पुनः राजनीतिक संकट आउन नदिन सचेत रहेको बताए ।
जवाफमा प्रधानमन्त्री कार्कीले आफ्नो सम्पूर्ण ध्यान तोकिएकै समयमा चुनाव गराउनमा केन्द्रित रहेको स्पष्ट पारिन्।
रास्वपाका नेताहरूले 'जेनजी' आन्दोलनका क्रममा उठेका मागहरू सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए । भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल तथा रास्वपाका उपसभापतिहरू डीपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी लगायतको उपस्थिति थियो ।