काठमाडौँ ।
काठमाडौं उपत्यकाका नदीहरूमा तैरिने फोहोर संकलन गर्नका लागि बागमती नदीमा ट्रास बेरियर जडानको काम सुरु भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गुह्येश्वरीबाट सुरु गरी गोकर्ण ब्यारेज, तिलगंगा आँखा अस्पताल, बागमती-मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानसम्म गरी ६ स्थानमा ट्रास बेरियर जडान गर्न लागेको हो ।
कुल ६५ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भई काम भइरहेको छ । ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल र काठका टुक्राहरू रोकी एक निश्चित स्थानमा जम्मा गर्नेछ । यसले नदीको बहावलाई अवरुद्ध नगरी फोहोर संकलन गर्न र नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
संकलित फोहोरलाई वर्गीकरण गरी पुनःप्रयोग वा सुरक्षित व्यवस्थापन गर्न सकिनेछ । यसले नदीको सौन्दर्य, जलजीव संरक्षण र सार्वजनिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।