काठमाडौँ ।
विभिन्न वाम घटकहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज (शनिबार) काठमाडौंमा ‘एकता सन्देश सभा’ आयोजना गर्दैछ । बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेश समितिको संयुक्त आयोजनामा मध्याह्न १२ बजेपछि भृकुटीमण्डपमा सभा हुन लागेको हो ।
सभाअघि बिहान ११:३० बजे सुन्धारा, नयाँ सडक चोक र शान्ति बाटिकाबाट जुलुस निकालिनेछ । ती जुलुसहरू एकीकृत भई भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने कार्यक्रम रहेको छ ।
सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, बाम देव गौतम, भीम रावललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
पार्टी एकताको सन्देश दिन नेकपाले गत मंसिर १२ गतेदेखि सातवटै प्रदेशमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै आएको छ । गत कात्तिक १९ गते तत्कालीन नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत १२ वटा वामपन्थी घटकहरूबीच एकता भई नेपाली कम्युनिष्ट पार्टी गठन भएको थियो ।