काठमाडौँ
सेयर बजार नेपाल स्टक एक्सचेन्ज परिसूचक लगातार तेस्रो कारोबार दिन पनि उकालो लागेको छ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक ५.७० अङ्कले बढ्दै २६२५.७० अङ्कमा पुगेको छ ।
यसअघि सोमबार र मंगलबार पनि बजार क्रमशः ६.७४ अङ्क र १८.३७ अङ्कले वृद्धि भएर बन्द भएको थियो । लगातारको सुधारले लगानीकर्ताको मनोबल बढाएको देखिन्छ ।
बुधबारको कारोबारमा कुल ४ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका कम्पनीहरूमध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १०५ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत रूपमा हेर्दा होटल, निर्जीवन बीमा र ट्रेडिङ समूहमा गिरावट देखिएको छ भने बाँकी सबै समूहका सूचक हरियालीमा रहे । फाइनान्स समूह सबैभन्दा धेरै १.७५ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा स्वस्तिक लघुवित्त र एसवाई प्यानलमा सकारात्मक सर्किट ब्रेकर लागेको छ भने बाराही हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर अग्रस्थानमा रहँदै २२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार हुने सेयर सङ्ख्याका आधारमा पनि सोही कम्पनी अगाडि रहँदा, कारोबार सङ्ख्याको हिसाबले श्रीनगर एग्रिटेक इन्डष्ट्रिज शीर्ष स्थानमा देखिएको छ ।