पहिलो चार महिनामा विप्रेषण ३१.४ प्रतिशतले वृद्धि, बाह्य सूचक बलियो

Author

सजिलो पत्रिका

२०८२ पुस ०१, मङ्गलबार

14
Share
Featured
  • चालू आवको पहिलो चार महिनामा विप्रेषण ३१.४% बढेर ६ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ।
  • विदेशी मुद्रा सञ्चिति बढेर ३० खर्ब ५५ अर्ब रुपैयाँ पुगेको र बाह्य सूचकहरू बलियो भएका छन्।
  • कर्जा प्रवाह भने सुस्त (१.२% मात्र वृद्धि) रहँदा मुद्रास्फीति १.११% मा झरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालमा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार साउनदेखि कात्तिकसम्म विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले मात्र बढेको थियो ।

अमेरिकी डलरमा समेत विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । चालू आवको कात्तिकसम्म डलरमा विप्रेषण २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ, जबकि अघिल्लो वर्ष यस अवधिमा यस्तो वृद्धि ८.२ प्रतिशत रहेको थियो । विप्रेषण आप्रवाह बढेसँगै मुलुकका बाह्य आर्थिक सूचकहरू थप बलियो भएका छन् । चालू आवको कात्तिकसम्म चालू खाता २ खर्ब ७९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब ४७ अर्ब ७८ करोड रुपैयाँले बचतमा थियो ।

विदेशी मुद्रा सञ्चिति पनि उल्लेख्य रूपमा बढेको छ । २०८२ असारसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति १४.१ प्रतिशतले वृद्धि भई २०८२ कात्तिकमा ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा सञ्चिति असारमा १९ अर्ब ५० करोड रहेकोमा कात्तिकमा १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार हालको विदेशी विनिमय सञ्चिति आव २०८२/८३ को कात्तिकसम्मको आयातलाई आधार मान्दा २०.८ महीनाको वस्तु आयात र १७.४ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

बाह्य सूचक बलियो भए पनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह भने सुस्त नै रहेको छ । चालू आवको कात्तिकसम्म कर्जा प्रवाह १.२ प्रतिशत मात्र बढेर ६५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कर्जा प्रवाह १ खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ अर्थात् २.५ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकले चालू आवमा कर्जा विस्तारका लागि लचिलो मौद्रिक नीति ल्याए पनि आर्थिक गतिविधि अपेक्षित रूपमा चलायमान नहुँदा कर्जा प्रवाह बढ्न नसकेको हो । भदौमा भएको जेनजी आन्दोलनपछि कर्जा प्रवाह थप सुस्त भएको राष्ट्र बैंकले जनाएको छ ।

कर्जा विस्तारलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले मङ्सिर १५ मा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै थप लचिलो नीति अपनाएको छ । साथै, सोमवार एकीकृत निर्देशन संशोधन गरी कर्जा प्रवाहसम्बन्धी प्रावधानहरू पनि खुकुलो बनाइएको छ ।

चालू आवको कात्तिक महिनामा उपभोक्ता मूल्य वृद्धिदर १.११ प्रतिशतमा झरेको छ । खाद्य तथा पेय पदार्थ समूहको मूल्य घट्दा समग्र मुद्रास्फीति न्यून विन्दुमा आएको हो । कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो समाचारमा

काठमाडौँनेपालनेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    १० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने सेबोनको लक्ष्य

    काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी १० वर्षभित्र नेपाली पुँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको, प्रविधिमैत्री र विविध वित्तीय उपकरणयुक्त बनाउने लक्ष्यसहित ‘नेपालको पुँजी बजार विकास मार्गचित्र–२०८३’ सार्वजनिक गरेको छ।मंगलबार सार्वजनिक गरिएको १२४ पृष्ठको मार्गचित्रले पुँजी बजारलाई बैंकिङ प्रणालीको पूरक मात्र नभई नेपालको आर्थिक विकासको दोस्रो प्रमुख स्तम्भका रूपमा स्थापित

    Data is loading...

    Loading brands...

    Loading footer...