काठमाडौँ । अहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । आफुले भने जस्तो पदमा उम्मेदवार नपाएपछि एमालेका नेता केहीको रुवाबासी चलेको छ भने कोही रुनु न हाँस्नुको दशामा पुगेका छन् । एमालेमा धेरैले सर्वेसर्वा भनेर टिप्पणी गरिएका सुप्रिमो खड्गप्रसाद शर्मा ओलीले कयौँ नेताहरुको कन्त विजोग बनाइदिएका छन् ।
ओलीले महेश बस्नेतलाइ सचिवको उम्मेदवार बनाएपछि प्रदीप ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए । ओली जस्तै खरो बोल्ने नेताको परिचय बनाउन लागि परेका सूर्य थापा रुनु न हाँस्नुको दशामा छन् । माधवकुमार नेपाल क्याम्प छोडेर पुरानै घर फर्किएकी रामकुमारी झाँक्री, किसान श्रेष्ठको पनि कन्त विजोग भएको छ । केही समय ओलीको ढाल नै बनेर उभिएका पृथ्वी सुब्बा गुरुङपनि पीडित भएका छन् ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले महासचिवबाहेक कुनै पदमा उम्मेदवारी नदिने अडान राखेका छन् । ओली प्यानलबाट उपाध्यक्षको सूचीमा नाम राखिए पनि उनले निकटस्थसँग भनेका छन्, “म एमालेको पदाधिकारी थिएँ, अब कार्यकर्ता रहन्छु। एउटै व्यक्तिलाई दोहोर्याइराख्ने प्रवृति उचित भएन । मेरो मन एकदमै दुखेको छ। म पार्टी आन्दोलनमै छु। केन्द्रीय सदस्यबाहेक मेरो उम्मेदवारी अन्त रहेन।”
ओलीको हनुमान नै हुँ भन्दै हिँडेका सूर्य थापालाई ओली प्यानलबाट महेश बस्नेत सचिवको उम्मेदवार बनेपछि रुनु न हाँस्नुको पीडामा पर्ने नै भए । सूर्यको सचिवमा उठ्ने योजना थियो । तर, पदाधिकारीको आकांक्षा राख्ने आफ्नो पक्षमा धेरै नेता भएपछि ओलीले हनुमान नै बन्न पछि परेका सूर्यलाई छेक्नु पर्ने अवस्था आइलाग्यो ।
महेशलाई सचिव उम्मेदवार बनाएका ओलीले चाहेको भए सूर्यलाई पनि उम्मेदवार बनाउन सक्ने अवस्था रहेको तर ओलीले अस्वीकार गरिदिएको टिप्पणी भइरहेको छ । ओलीले आफ्नो प्यानलबाट उम्मेदवार नबनाएपछि विद्रोह गरेर ईश्वर पोखरेल पक्षमा गएपनि सचिवको उम्मेदवार बन्न नपाउने सम्भावना देखेपछि सूर्य रुनु न हाँस्नुको अवस्थामा पुगेका हुन् ।
नेता पृथ्वी सुब्बा गुरुङले पनि महासचिवको उम्मेदवार नबनाई आफूले उपाध्यक्षमा उम्मेदवार नदिने अडान लिएका छन् । पूर्व सञ्चारमन्त्री गुरुङ ओली प्रधानमन्त्री हुँदा गोलकिपर नै थिए भन्दा फरक नपर्ला । एमालेको घरर्फक अभियानमार्फत फर्किएकी रामकुमारीको पनि विजोग नै भएको छ ।
रामकुमारी र किसान श्रेष्ठसँग केपी शर्मा ओलीले पुरानै बदला लिए भन्दैछन्, टिप्पणीकारहरु । रामकुमारी र किसान महाधिवेशनमा कम्तिमा पनि सचिवको उम्मेदवार बन्ने योजना लिएर एमाले प्रवेश गरेका थिए । तर ओलीले कठोरता साँधेपछि उनीहरुको सपना चकनाचुर भएको छ ।