काठमाडौँ ।
आज डिसेम्बर १२, विश्व इतिहासमा यो दिन विभिन्न महत्वपूर्ण घटनाहरूले भरिएको छ । केन्याको स्वतन्त्रतादेखि पेरिस जलवायु सम्झौतासम्मका घटनाहरूले आजको दिनलाई विशेष बनाएका छन् ।
आजका प्रमुख ऐतिहासिक घटनाहरू:
सन् २०१५: पेरिस जलवायु सम्झौतामा सहमति
आजकै दिन संयुक्त राष्ट्र संघको आयोजनामा भएको सम्मेलनमा १९५ राष्ट्रले ऐतिहासिक पेरिस जलवायु सम्झौतामा सहमति जनाएका थिए । यो सम्झौताको मुख्य उद्देश्य विश्वव्यापी तापमान वृद्धि नियन्त्रण गर्न ग्रिनहाउस ग्यास उत्सर्जन कम गर्नु थियो ।
सन् १९६३: केन्याले स्वतन्त्रता पायो
पूर्वी अफ्रिकी मुलुक केन्याले आजकै दिन बेलायती साम्राज्यबाट स्वतन्त्रता प्राप्त गरेको थियो । केन्या सन् १८८८ देखि बेलायतको अधीनमा थियो ।
सन् २०००: जर्ज डब्लू बुस अमेरिकी राष्ट्रपति घोषित
अमेरिकी सर्वोच्च अदालतले फ्लोरिडामा पुनः मतगणनाको माग खारेज गर्दै जर्ज डब्लू बुसलाई राष्ट्रपतिको रूपमा मान्यता दिएको थियो ।
सन् १९६९: इटालीमा बम विष्फोट
इटालीको मिलानस्थित पियाजा फोन्टानामा रहेको एक बैंकमा भएको बम विष्फोटमा १७ जनाको मृत्यु भएको थियो भने ८८ जना घाइते भएका थिए ।
सन् २००९: अमेरिकामा पहिलो समलिंगी मेयर
अमेरिकाको हस्टन शहरमा एनिस पार्कर पहिलो समलिंगी मेयरको रूपमा निर्वाचित भएकी थिइन् ।
सन् २०१९: पृथ्वीको सबैभन्दा गहिरो स्थान पत्ता लाग्यो
वैज्ञानिकहरूले अन्टार्कटिकाको डेनमान हिमतालमुनि पृथ्वीको सबैभन्दा गहिरो स्थान पत्ता लागेको घोषणा गरेका थिए, जुन समुद्री सतहबाट साढे ३ किलोमिटर तल छ ।