काठमाडौँ
इन्डोनेसियाको राजधानी जकार्तामा रहेको सात तले कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। आगो मंगलबार दिउँसो उठेको थियो, जब केही कर्मचारीहरू खाना खाँदै थिए। जकार्ता प्रहरी प्रमुख सुसात्यो पुर्नोमो कोंड्रोका अनुसार आगो पहिलो तलामा ब्याट्री विस्फोट भएपछि फैलिएको थियो। उक्त भवनमा ड्रोन बनाउने कम्पनीको कार्यालय रहेको छ।
प्रहरीका अनुसार मृतकमध्ये अधिकांश महिला थिए, जसमा एक गर्भवती समेत थिइन्। प्रारम्भिक अनुमान अनुसार उनीहरूको मृत्यु धुवाँका कारण दम घुटेर भएको थियो, जलेर नभएको हुनसक्छ।
भवनको माथिल्लो तलाबाट बाक्लो धुवाँ निस्किएको थियो। दमकलकर्मीहरूले २८ इन्जिन र करिब १०० जनाको टोलि परिचालन गरी कर्मचारीहरूलाई हवाई सीढीबाट उद्धार गरेका थिए। आगो नियन्त्रणमा आएको भए पनि उद्धार टोलीले माथिल्लो तल्लाहरूमा खोजी जारी राखेको छ। विशेषगरी छैटौं तलामा पहुँच चुनौतीपूर्ण रहेको बताइएको छ।
भवनमा रहेको कम्पनीले औद्योगिक ग्राहकका लागि ड्रोन सेवाहरू जस्तै हवाई सर्वेक्षण, म्यापिङ, निरीक्षण र कृषि सम्बन्धी कामहरू गर्दै आएको छ। प्रहरीले मृतकहरूको पहिचानमा ध्यान केन्द्रित गरेको छ।