काठमाडौँ।
शिक्षामन्त्री महावीर पुनले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको प्रस्तावित नयाँ निवासको डिजाइनप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन् । भक्तपुरको गुण्डुमा निर्माण हुन लागेको 'ओली कुटी' नाम दिइएको उक्त निवासको डिजाइनलाई लक्षित गर्दै मन्त्री पुनले दुई जनाको परिवारका लागि बनाइएको घर अनावश्यक रूपमा विलासी भएको संकेत गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा ‘एकछिन रमाइलो’ भन्दै लेखेका छन्, “यो नक्सा डिजाइन गर्ने इञ्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ । अनि घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ ।”
आफ्नो व्यंग्यलाई थप प्रस्ट्याउँदै उनले लेखेका छन्, “हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनु हुन्छ त उसले । कहाँसम्मको लापरवाही हो यो ?”
गत भदौ २४ गते 'जेनजी' आन्दोलनका क्रममा बालकोटस्थित ओली निवासमा आगजनी भएपछि उनको परिवारका लागि गुण्डुमा नयाँ निवास बनाउन लागिएको हो । उक्त भवनको शिलान्यास यही मंसिर १८ गते ओली पत्नी राधिका शाक्यले गरेकी थिइन् । आगजनीपछि ओली दम्पती हाल गुण्डुमै भाडाको घरमा बस्दै आएका छन् ।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार, गुण्डुवासीले दिएको करिब एक रोपनी क्षेत्रफलको जग्गामा उक्त भवन निर्माण हुन लागेको हो । प्रस्तावित नयाँ भवनमा अत्याधुनिक बैठक कक्ष, पुस्तकालय, ग्रीनहाउस र कौसीखेती गर्ने सुविधासमेत रहने बताइएको छ । यही भव्य डिजाइनलाई लिएर शिक्षामन्त्री पुनले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका हुन्, जुन अहिले चर्चाको विषय बनेको छ ।