काठमाडौँ
दक्षिण कोरियामा पूर्व राष्ट्रपति युन सुक-योलले एक वर्षअघि लागू गरेको असफल मार्शल लको सम्झनामा बुधबार राजधानी सोलमा प्रदर्शन सम्पन्न भयो। करिब ११,००० जनाको सहभागितामा भएको उक्त प्रदर्शनले नागरिक प्रतिरोध र संसदीय हस्तक्षेपले मार्शल ल आदेशलाई अस्वीकार गरेको स्मरण गरायो।
प्रदर्शनमा सहभागीहरूले लाइट स्टिकसहित नाराबाजी गर्दै “अपराधको हिसाब गर्नुहोस्!” जस्ता नारा लगाएका थिए। प्रगतिशील नागरिक समूहहरूले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति ली जे म्युङले यसलाई “प्रकाशको क्रान्ति” र “K-डेमोक्रेसी” को प्रतीक बताए। उनले यो घटना दक्षिण कोरियाली जनताको उच्च नागरिक चेतना र लोकतन्त्रको मजबुततासँग जोडिएको बताए।
राजनीतिक दलहरूले पनि वार्षिकोत्सवमा विभिन्न कार्यक्रम सञ्चालन गरे। नेशनल असेंब्ली परिसरमा “डार्क टुर” आयोजना गर्दै, प्रमुख स्थानहरू देखाइयो जहाँ सैनिकहरूले मार्शल ल लागू गर्न प्रयास गरेका थिए। विपक्षी दलले पनि माफी माग्दै, त्यतिबेला सहभागी नभएका वा समर्थन गरेका सांसदहरूलाई जिम्मेवारी लिन प्रेरित गरियो।
विशेषज्ञहरूका अनुसार, युनको असफल मार्शल ल प्रयासले देशलाई अस्थिर बनाएको भए पनि संसद्ले मार्शल ल रद्द गर्यो, युनलाई पक्राउ, मुद्दा चलाइयो र महज छ महिनाभित्र नयाँ राष्ट्रपति निर्वाचित भयो। यस घटनाले अन्तर्राष्ट्रिय समुदायलाई दक्षिण कोरियाको लोकतन्त्र दृढ रहेको देखाएको छ।