काठमाडौँ
सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो पहिलो मल्टि–फोल्डेबल फोन सामसुङ ग्यालेक्सी जेड ट्राइ–फोल्ड सार्वजनिक गरेको छ, जसमा दुई हिँज भएको नयाँ डिजाइन प्रयोग गरिएको छ। फोन तीन तहमा फोल्ड भएर खोलिँदा १०–इन्च को ठूलो डिस्प्ले बन्छ, जसले यसलाई ट्याब्लेटजस्तै प्रयोगयोग्य बनाउँछ। यो फोन दक्षिण कोरियामा १२ डिसेम्बर २०२५ मा सार्वजनिक हुँदैछ, भने २०२६ को पहिलो चौमासिकमा अमेरिका लगायत अन्य देशहरूमा उपलब्ध हुनेछ।
नयाँ ट्राइफोल्ड डिभाइसमा स्न्यापड्रागन ८ एलाइट मोबाइल प्लेटफर्म फर ग्यालेक्सी प्रयोग गरिएको छ, जसले मल्टिटास्किङ क्षमता बढाउँछ। यसले एकैपटक चारवटा कार्यक्षेत्र (वर्कस्पेसेस) चलाउन र स्ट्यान्डअलोन सामसुङ डेक्स सपोर्ट गर्न सक्छ। १०–इन्च को मुख्य डायनामिक एमोलेड २एक्स डिस्प्ले र ६.५–इन्च को कभर डिस्प्ले दुुवैमा १२० हर्ज रिफ्रेस रेट उपलब्ध छ।
फोटोग्राफीका लागि फोनमा २०० मेगापिक्सेल मुख्य क्यामेरा, १२ मेगापिक्सेल अल्ट्रावाइड, र १० मेगापिक्सेल टेलिफोटो (३x अप्टिकल जुम) क्यामेरा समावेश गरिएको छ। कभर र भित्री स्क्रिनमा १० मेगापिक्सेल का दुई फ्रन्ट क्यामेरा छन्। ५,६०० एमएएच क्षमताको तीन–सेल ब्याट्री, ४५ वाट फास्ट चार्जिङ र १५ वाट वायरलेस चार्जिङ समर्थन पनि उपलब्ध छ। फोनको फ्रेम एडभान्स्ड आर्मर एलुमिनियम र हिँज भागमा टाइटानियम प्रयोग गरिएकाले यसको मजबुती बढाइएको छ।
यो मोडेल क्राफ्टेड ब्ल्याक रंगमा मात्र उपलब्ध हुनेछ। दक्षिण कोरियामा यसको मूल्य करिब ३,५९४,००० वोन (झण्डै २,४५० अमेरिकी डलर) तोकिएको छ। छिट्टै चीन, ताइवान, सिंगापुर र संयुक्त अरब इमिरेट्समा पनि बिक्री सुरु हुनेछ। संयुक्त राज्य अमेरिकामा २०२६ को पहिलो चौमासिकमा उपलब्ध हुने अपेक्षा छ, जहाँ यसको मूल्य २,५०० देखि ३,००० डलरबीच हुने अनुमान गरिएको छ।