काठमाडौँ ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४४ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनायो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रनको योगदान दिए ।
त्यस्तै, दिलिपनाथले ३१, डी’आर्की सर्ट र सुमीत महर्जनले समान १८/१८ तथा गुलबदिन नैबले ११ रन बनाए । अन्य ब्याट्सम्यानले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ सुदूरपश्चिमका लागि अविनाश बोहरा र हर्मित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै समान ३/३ विकेट लिए । हेमन्त धामीले २ विकेट लिँदा बेन कुग्गेलेइजनले एक विकेट आफ्नो नाममा लेखाए ।
जारी प्रतियोगितामा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार तीन जितका साथ ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी भने तीन खेलमा एक जितसहित अंक तालिकाको छैटौं स्थानमा छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुनेछ । प्रतियोगिताको विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । एनपीएलमा ८ टोलीको सहभागिता रहेको छ ।