काठमाडौँ।
अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले सोमबार चिनियाँ राष्ट्रपति शी जिनपिङसँग फोनमा कुराकानी गरेका छन् । दुई नेताबीच रुस–युक्रेन युद्ध, फेंटानिल तस्करी र किसानहरूका लागि एक महत्वपूर्ण सम्झौता लगायतका विषयमा छलफल भएको थियो ।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट लेख्दै राष्ट्रपति ट्रम्पले चिनियाँ समकक्षी सीसँगको कुराकानी "धेरै राम्रो" भएको बताएका छन् । उनले लेखेका छन्, ‘हामीले हाम्रा महान किसानहरूका लागि एक राम्रो र अत्यन्तै महत्वपूर्ण सम्झौता गरेका छौँ - र यो अझ राम्रो हुँदै जानेछ ।’ ट्रम्पले चीनसँग अमेरिकाको सम्बन्ध अत्यन्तै बलियो रहेको पनि उल्लेख गरेका छन् ।
यो फोन वार्तालाई केही हप्ताअघि दक्षिण कोरियामा भएको दुई नेताबीचको सफल बैठकको निरन्तरताको रूपमा हेरिएको छ ।
वार्ताका क्रममा राष्ट्रपति सीले ट्रम्पलाई आगामी अप्रिलमा चीन भ्रमणको निम्तो दिएका थिए, जसलाई ट्रम्पले स्वीकार गरेका छन् । यसको बदलामा ट्रम्पले पनि राष्ट्रपति सीलाई अर्को वर्षको अन्त्यतिर अमेरिकाको राजकीय भ्रमणका लागि निमन्त्रणा दिएका छन् ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार, कुराकानीमा राष्ट्रपति सीले ताइवानको विषयमा चीनको अडानलाई पुनः दोहोर्याएका थिए । दुवै नेताले युक्रेनमा जारी युद्धको शान्तिपूर्ण समाधानका लागि गरिने प्रयासहरूलाई समर्थन गर्ने विषयमा पनि छलफल गरेका थिए ।