काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन्। उनले पार्टीको प्रक्रियाअनुसार बागमती प्रदेश समितिमा आफ्नो राजीनामा बुझाएका हुन् । यद्यपि, विष्टले आफूले जिल्ला सभापतिको जिम्मेवारीबाट मात्र राजीनामा दिएको तर पार्टी नछाडेको स्पष्ट पारेका छन् । "पार्टी छोडेको छैन, काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट राजीनामा दिएको हुँ," उनले भने ।
राजीनामा दिनुअघि बोलाइएको जिल्ला कार्यसमिति बैठकमा सदस्यहरूले उनलाई राजीनामा नदिन दबाब दिएका थिए । तर, पछि उनले राजीनामा दिनु नै उपयुक्त ठानेको बताए ।
पहिलो महाधिवेशनअघि नै रास्वपामा संस्थापक नेताहरूले पार्टी छाड्ने क्रम बढेको छ । यसअघि पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ, केन्द्रीय सदस्य डा. प्रभात अधिकारी, हरि भट्ट, प्रमुख सचेतक सन्तोष परियार र कोशी प्रदेश सभापति राजेश तिमिल्सिना लगायतले पार्टी परित्याग गरिसकेका छन् ।