काठमाडौँ।
पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल खण्डअन्तर्गत नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति सडक बन्द गरिने भएको छ । सडक कालोपत्र गर्नका लागि मंसिर ५ र ६ गते राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा राजमार्ग बन्द गर्न लागिएको हो ।
नारायणघाट-बुटवल सडक योजना पूर्वी खण्डका अनुसार, निर्माणाधीन सडकको गैँडाकोटतर्फको एप्रोच सडकमा कालोपत्र गर्न सवारी आवागमन रोक्न लागिएको हो ।
यो समयमा पूर्वतर्फ जाने सवारीसाधनलाई नवलपुरका विभिन्न स्थानमा र पश्चिमतर्फ आउने सवारीलाई चितवनका विभिन्न स्थानमा रोकइनेछ । ठूला र साना सवारीका लागि छुट्टाछुट्टै स्थान तोकिएको छ ।
सडक बन्द हुने समयमा यात्रा गर्नेहरूलाई तोकिएको स्थानमा रोकिएर पालो कुर्न वा वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ । यो खण्ड कालोपत्र भएपछि दाउन्नेसम्म करिब ६० किलोमिटर सडक कालोपत्रले जोडिनेछ, जसले यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ ।