काठमाडौँ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गुर्खाज र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ ।
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर उच्च मनोबलका साथ काठमाडौं मैदान उत्रँदैछ । करण केसीको कप्तानीमा रहेको काठमाडौंलाई पूर्व राष्ट्रिय प्रशिक्षक मोन्टी देसाईले प्रशिक्षण दिइरहेका छन् । पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेका मिलिन्द कुमारका साथै नामिबियाका कप्तान जेरार्ड एरासमस जस्ता विदेशी खेलाडीले टोलीलाई बलियो बनाएको छ ।
यता,दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम आज विजयी सुरुवात गर्ने लक्ष्यमा छ । गत संस्करणको फाइनलमा पराजित भएको सुदूरपश्चिमले यसपटक अस्ट्रेलियाका विष्फोटक ब्याट्सम्यान क्रिस लिन र जोश ब्राउनलाई टोलीमा भित्र्याएको छ । विनोद भण्डारी, आरिफ शेख जस्ता अनुभवी खेलाडीको साथ पाएको सुदूरपश्चिम पनि उपाधि दाबेदार मानिएको छ ।