काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले अदालतमा विचाराधीन रहेका विषयहरूमा पर्याप्त अध्ययन र तथ्यबिना सार्वजनिक अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण हुने बताएकी छिन्। मंगलबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले अपूर्ण र तथ्यहीन कागजातका आधारमा गरिने छलफलले जनमानसमा भ्रम सिर्जना गर्न सक्ने भन्दै सचेत गराइन्।
ओलीले प्राप्त तथ्य र व्यक्तिगत अध्ययनका विवरणहरूबिच ठूलो भिन्नता देखिएको उल्लेख गर्दै 'मिडिया ट्रायल' भइरहेका विषयमा जिम्मेवार पदमा बसेका व्यक्तिहरूले गम्भीर अध्ययन नगरी धारणा राख्नु न्यायोचित नहुने तर्क गरिन्। उनले विचाराधीन मुद्दाका सम्बन्धमा भइरहेको वर्तमान प्रक्रियालाई तत्काल रोक्न सभापतिको ध्यानाकर्षण गराउँदै आधिकारिक दस्ताबेजहरूको अध्ययन र अदालतको फैसला आएपछि मात्रै धारणा सार्वजनिक गर्नु उपयुक्त हुने बताइन्।