काठमाडौँ
चीनले आफ्ना नागरिकलाई जापान नजान चेतावनी दिएपछि जापानी पर्यटन र खुद्रा व्यापारसँग सम्बन्धित कम्पनीहरूको सेयर मूल्य सोमबार तीव्र रूपमा घटेको छ। जापानकी प्रधानमन्त्री सनेई तकाइचीले चीनले ताइवानमाथि आक्रमण गरेमा टोकियोले सैन्य प्रतिक्रिया दिन सक्ने संकेत गरेपछि दुई देशबीचको तनाव बढेको थियो। यसले विशेषगरी चिनियाँ पर्यटकमा ठूलो असर पारेको छ, जसले जापानको पर्यटन उद्योगलाई विगतदेखि नै धेरै योगदान दिँदै आएको छ।
शिसेडो, तकाशिमाया र युनिक्लोको मूल कम्पनीका सेयरहरू ५–१०% ले खस्दा यसले बजारमा ठूलो दबाब सिर्जना गर्यो। चीनले आफ्नो नागरिकलाई अध्ययनका लागि जापान जान पुनर्विचार गर्न आग्रह गर्दै, जापानमा रहेका विद्यार्थीलाई पनि सुरक्षास्थितिसम्बन्धी सतर्क रहन निर्देशन दिएको छ। गत वर्ष जापानमा १ लाखभन्दा बढी चिनियाँ विद्यार्थी अध्ययनरत थिए, जसले द्विपक्षीय सम्बन्धमा शिक्षा क्षेत्र पनि महत्वपूर्ण रहेको देखाउँछ।
यसबीच, चीनका विभिन्न एयरलाइन्सहरूले जापान जाने टिकटमा रिफन्ड दिन थालेका छन्, जसले दुई देशबीच यात्रा लगभग स्थबिर बनाएको छ। सुरक्षा तनाव तीव्र भएपछि जापानको २०१५ को सुरक्षा कानुन अन्तर्गत "अस्तित्वमा खतरा पुर्याउने अवस्था" को चर्चा फेरि बढेको छ, जसले आवश्यक परे जापानका आत्मरक्षा बललाई कारबाही गर्न अनुमति दिन्छ। ताकाइचीले संसदमा चीनद्वारा आक्रमण भएमा यस्तो अवस्था मानिन सक्ने बताएका थिए।
ताइवान चीनको नजरमा छुट्टिएको प्रान्त भए पनि धेरै ताइवानीहरूले आफूलाई पृथक पहिचान भएको राष्ट्रका रूपमा हेर्छन्। चीनले ताइवानलाई बल प्रयोग गरेर पनि आफ्नो नियन्त्रणमा ल्याउने विकल्प खुला राखेको छ, जबकि ताइवानका धेरै नागरिकहरूले न स्वतन्त्रता घोषणा गर्न चाहन्छन्, न चीनसँग एकीकरण; बरु वर्तमान 'स्टाटस–क्वो' कायम राख्नै चाहन्छन्। जापानसँग ताइवानको भौगोलिक नजिकिनाले त्यहाँ कुनै तनाव बढेमा टोकियोले पनि प्रत्यक्ष खतरा महसुस गर्ने स्थिति छ।