काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग भएकी पूर्वमन्त्री सुमना श्रेष्ठले आफूलाई लागेको 'अवसरवादी' आरोपको जवाफमा 'म अवसरवादी' शीर्षकको कविता लेखेकी छन्। सुरुमा कुलमान घिसिङको 'उज्यालो नेपाल पार्टी' मा आबद्ध हुने चर्चा चले पनि अन्तिममा त्यसमा नअटाएपछि उनले यो कविता सार्वजनिक गरेकी हुन्।
महाकवि को 'पागल' कविताबाट प्रेरित भएर लेखिएको यस कवितामा श्रेष्ठले आफूलाई 'अवसरवादी' स्वीकार गरेकी छन्। तर, उनको अवसरवादको परिभाषा फरक छ।
कवितामा के छ?
कवितामा सुमना श्रेष्ठले जनताको पीडामा मलम लगाउनु, अन्धकारमा आशाको बत्ती बाल्नु, न्याय र सत्यको बाटोमा हिँड्नुलाई अवसरका रूपमा लिएकी छन्। उनी सुशासन, विधिको शासन र जनताको आँसु पुछ्ने अवसरको खोजीमा रहेको बताउँछिन्।
उनले परिवर्तनको घडीमा भ्रष्टहरूको दिन आउन नदिन आफू मौन नरहने स्पष्ट पारेकी छन्। मौनतालाई स्वीकृति र अपराध दुवै मानेकी छन्।
श्रेष्ठले आफू शब्दमा नभई संकल्पको अर्थमा अवसरवादी भएको उल्लेख गरेकी छन्। देशलाई फेरि उठाउने, युवालाई आस्था दिलाउने र राजनीतिलाई जनसेवा बनाउने अवसर चाहेको उनको भनाइ छ।
यदि सेवा गर्नु अपराध हो भने त्यो अपराध स्वीकार्ने र परिवर्तनमा विश्वास राख्नु पागलपन हो भने त्यो पागलपन पनि स्वीकार्ने उनले बताएकी छन्। देश निदाएको मात्रै भएको र एक दिन बिउँझने विश्वास व्यक्त गर्दै, त्यो बिहानको घामसँगै आफ्नो नाम 'अवसरवादी' करार भए पनि आफू सबैभन्दा खुसी हुने उनको कविताको सार छ।