काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्रीडा. शशांक कोइरालाले विशेष महाधिवेशनमा जान नहुने बताएका छन् । जारी केन्द्रीय समितिमा बुधबार धारणा राखेका शशांकले पार्टीलाई पक्ष–विपक्षमा विभक्त गर्न अहिलेको समय उपयुक्त नभएको बताए ।
उनले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेकाहरूलाई विश्वासमा लिएर वैकल्पिक समाधान खोज्नुपर्ने बताए ।
“यतिबेला विशेष महाधिवेशनमा पार्टी जानुहुन्न । तर, विशेष महाधिवेशन माग गरेका साथीहरूलाई पनि विश्वासमा लिएर अगाडि बढ्नु व्यवहारिक हुन्छ,” कोइरालाले भने, “पार्टी महाधिवेशनको विषयमा पक्ष–विपक्षमा बाँडिएर द्वन्द्व बढाउने भन्दा विशेष महाधिवेशनको माग राख्ने साथीहरूको भावनालाई पनि समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोजेर जानुपर्छ ।”
अहिले पार्टी निर्वाचनमा केन्द्रित हुनुपर्ने भएकाले निर्वाचनबाटै जेनजीका माग सम्बोधन गर्न सकिने बताए ।
“जेनजी आन्दोलनपछि सरकारमात्र बदलिएको छ । तर, ०७२ मा बनेको हाम्रो संविधान यथावत् छ,” कोइरालाले भने, “निर्वाचनमार्फत बन्ने प्रतिनिधि सभाले आवश्यक संविधान संशोधन गरेर जेनजीको जायज माग पूरा गर्न सक्छ ।”
उनले कांग्रेसले गर्ने निर्णयमा अहिलेको संविधान र यसमा मूलभूत आधार समाउनुपर्ने उनको सुझाव छ ।