काठमाडौँ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले आगामी मंसिर २४ गतेदेखि विशेष महाधिवेशन गर्न प्रस्ताव राखेका छन् । जारी केन्द्रीय समिति बैठकमा शुक्रबार (कात्तिक २१) बोलेका आचार्यले नियमित महाधिवेशन गर्दा चुनावमा प्रभाव पर्ने चिन्ता हो भने विशेष महाधिवेशनबाट विशेष संकल्प गरेर निस्कन आग्रह गरे ।
“मैले बुझेको महामन्त्रीले राखेको प्रस्ताव आधिकारिक प्रस्ताव हो । यहाँ सहमहामन्त्रीबाट अर्को महाधिवेशनको प्रस्ताव आएको छ । यदि सबैले प्रस्ताव राख्ने हो भने म पनि एउटा प्रस्ताव राख्न चाहन्छु,” आचार्यले भने, “आजै निर्णय गरौँ । कसले हस्ताक्षर गर्यो, कसले गरेन भन्ने हिसाब छोडौँ, केन्द्रीय समितिको निर्णयबाट आगामी मंसिर २४ देखि विशेष महाधिवेशन गरौँ ।”
उनले मंसिर २४ गते कांग्रेस नेतृ मंगलादेवी सिंहको जयन्ती भएको भन्दै त्यही दिनबाट पार्टीले नयाँ नीतिसहित युवापुस्तालाई आकर्षित गर्ने संकल्प गर्नुपर्ने बताए ।
उनले त्यसरी नीति पारित गरे कांग्रेसको चौतर्फी प्रशंसा हुने दाबी गरे । कांग्रेसका पूर्वपदाधिकारीले महाधिवेशनका विषयमा अडान राखेको भन्दै उनले समाधान दिन आग्रह गरे । “पूर्वपदाधिकारीहरू तपाईंहरू हाम्रा आदरणीय व्यक्तित्व हुनुहुन्छ, तपाईंहरूले अडान र पोजिसन लिने होइन, समाधान दिने हो,” आचार्यले भने, “तपाईंहरू समाधानको माध्यम बनिदिनुस् मेरो हात जोडेर अनुरोध छ ।
उनले अरुले स्वीकार नगरे पनि कांग्रेसले सरकारलाई भ्रष्टाचारको छानबिनका लागि शक्तिशाली आयोग गठनको सिफारिस गर्नुपर्ने बताए ।
उनले भदौ २३ मा जेनजी प्रदर्शन भए पनि भदौ २४ मा बाँदरे प्रवृत्तिको अराजकता भएको बताए । “भदौ २४ को घटनालाई म चिम्पाञ्जी प्रवृत्तिको अराजकता भन्छु । यसमा संलग्न जो कसैलाई कानुनी दायरामा ल्याउनुपर्छ,” आचार्यले भने, “त्यसमा केही जेनजी संलग्न भए होलान् तर, मूलत त्यो अरुले नै मच्चाएको अराजकता थियो ।”