काठमाडौँ।
प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले जेनेक्स प्रदर्शनसम्बन्धी जाँचबुझ गर्न गठित आयोगलाई स्पष्टीकरणको जवाफ र प्रदर्शन नियन्त्रणमा खटिएका प्रहरी कर्मचारीको पूर्ण विवरण बुझाएका छन्। बिहीबार उनले गौरीबहादुर कार्की नेतृत्वको आयोगमा यी सामग्रीहरू पेश गरेका हुन्।
आयोगले यसअघि खापुङलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। बुधबार आयोगले जाँचबुझ आयोग ऐन, २०२६ को दफा ६ उल्लेख गर्दै कारबाहीको चेतावनीसहित दोस्रो पत्र पठाएपछि आईजीपीले जवाफ पठाएका हुन्।
खापुङले भदौ २३ गते काठमाडौँको माइतीघर र बानेश्वर क्षेत्रमा प्रदर्शन नियन्त्रणका लागि परिचालित प्रहरी कर्मचारीको पूर्ण विवरण पनि आयोगलाई उपलब्ध गराएका छन्। आयोगका सदस्य विज्ञानराज शर्माले विवरण प्राप्त भएको पुष्टि गर्दै अब कारबाहीको अवस्था नरहेको बताए।
यसअघि आयोगले प्रदर्शनमा खटिएका कर्मचारीको विवरण माग्दा खापुङले 'जवानदेखि आईजीपीसम्म फिल्डमा खटिएको' भन्दै सामान्य जवाफ दिएका थिए। त्यसपछि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। पहिलो स्पष्टीकरणपछि खापुङले काठमाडौँ उपत्यकामा कार्यरत सबै प्रहरी कर्मचारीलाई उपत्यका नछाड्न सर्कुलर जारी गर्दै त्यसको बोधार्थ आयोगमा पठाएका थिए, जसकै आधारमा आयोगले दोस्रो स्पष्टीकरण मागेको थियो।