काठमाडौँ।
अभियन्ता खगेन्द्र सुनारले आफ्नो सभापतित्वमा नयाँ राजनीतिक दल ‘हाम्रो पार्टी नेपाल’ दर्ताको निवेदन निर्वाचन आयोगमा दिएका छन्। दलले चुनाव चिह्नका रूपमा गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न प्रस्ताव गरेको छ। निर्वाचन आयोगले निवेदन हाल अध्ययनको चरणमा रहेको जनाएको छ।
दल दर्ताका लागि आयोगले केन्द्रीय समितिको प्रमाणित विवरण, निर्णयहरू, प्रमाणित प्रतिवद्धतापत्र, समर्थकहरूको विवरण, विधान, दलको नियमावली र घोषणापत्र लगायतका कागजात आवश्यक पर्ने बताएको छ।
दल खोल्न कम्तीमा पाँच सय जनाको नागरिकता प्रमाणपत्रसहितको स्वघोषणा र प्रतिवद्धता आवश्यक पर्छ। आयोगका अनुसार ती पाँच सय व्यक्ति कुन जिल्लाबाट हुन् भन्ने विवरण स्पष्ट हुनुपर्छ र सम्बन्धित जिल्ला कार्यालयमा पुगेर उनीहरूले सनाखत गर्नुपर्ने व्यवस्था छ।
आयोगले भनेको छ, “प्रत्येक जिल्लाबाट सनाखत प्रक्रिया पूरा भएपछि र अन्य आवश्यक कागजात उपलब्ध भएमा मात्र दल दर्ताको प्रक्रिया अगाडि बढ्छ।”
सुनारको पार्टी दर्ता प्रक्रिया अन्तर्गत सनाखत प्रक्रिया जारी रहेको छ। आयोगले कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र वितरण गर्नुपर्ने जानकारी दिएको छ। यस विषयमा पार्टी दर्तामा संलग्न रामबहादुर मिजारले अनलाइनखबरसँग जानकारी दिँदै प्रक्रिया सुचारु रहेको बताए।
