काठमाडौँ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित १० दलबीच पार्टी एकताको घोषणा भएको दिनै तत्कालीन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै पार्टीका ६ जना नेतामाथि कारबाही गरेका छन्।
नेपालले पार्टी निर्णय विपरीत गतिविधि गरेको आरोप लगाउँदै घनश्याम भुसाल, राम कुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्णकुमार श्रेष्ठ (किसान) लाई कारबाही गरेका हुन्।
कारबाही पत्रमा उल्लेख भएअनुसार, पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेको ‘नीति, विचार, सिद्धान्त र कार्यक्रम मिल्ने दलसँग मात्र एकता गर्ने’ भन्ने निर्णयको उल्लंघन गर्दै उनीहरूले भेला र पत्रकार सम्मेलन गरेका थिए।
नेपालले कारबाही पत्रमा भनेका छन्, “पार्टीको नाम र पद प्रयोग गरी भेला, बैठक, पत्रकार सम्मेलन वा कुनै पनि गतिविधि गरेमा कारबाही हुनेछ।”
उक्त पत्रमा कात्तिक १९ गतेको मिति उल्लेख छ- सोही दिन माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १० वामपन्थी दलबीच एकता घोषणा गरिएको थियो। पार्टी एकताको ऐतिहासिक क्षणमा पार्टीभित्रै भएको यो कारबाहीलाई धेरैले “विरोधाभासी कदम” का रूपमा लिएका छन्।
